बैभव कृषी फर्म (संचालकः बिमल कान्त चाैधरी)
“सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित बैभव कृषि फर्ममा बिहानैदेखि चहलपहल सुरू हुन्छ। बंगुरका खोरबाट आउने आवाज, दाना व्यवस्थापनको दौडधुप तथा फर्मको नियमित रेखदेखमा व्यस्त देखिन्छन्।” बिमलकान्त चौधरी। केही वर्षअघि एक विद्यालयको कक्षाकोठामा विद्यार्थीलाई पढाइरहनु भएका बिमलकान्त चौधरी आज पूर्णकालिन पशुपालक व्यावसायिक किसानका रूपमा स्थापित हुनुभएको छ। झण्डै १७ वर्ष शिक्षण पेशामा बिताउनु भएका चौधरीले करिब ६ वर्षअघि एउटा साहसी निर्णय लिनुभयो जुन जागिर छाडेर कृषि तथा पशुपालनमा पूर्ण रूपमा होमिने। त्यतिबेला धेरैले उनको निर्णयलाई जोखिमपूर्ण माने तर, आज उहाँले आफूले रोजेको बाटो सही भएको प्रमाणित गरिरहनु भएको छ। ‘म पहिले शिक्षक थिएँ। तर, सधैँ पढाइसँगै अर्को केही व्यवसाय गर्नुपर्छ भन्ने सोच थियो,‘ चौधरी भन्नुहुन्छ ‘अहिले पूर्ण रूपमा यही व्यवसायमा छु र सन्तुष्ट पनि छु।‘ उहाँको पशुपालन यात्राको सुरूआत २०७० साल तिरबाट सुरू भएको हो। भेटेरिनरी प्राविधिक रहेनुभएका बुवाको अनुभव, आफ्नै रूचि र केही अध्ययनले उहाँलाई यो क्षेत्रमा आकर्षित गर्यो। साथीहरूसँग विभिन्न फार्मको अवलोकन गरे। युट्युबमार्फत पनि जानकारी लिए। अन्ततः बंगुरपालन व्यवसाय सुरू गर्ने निष्कर्षमा पुगे।
सुरूआती वर्षहरू उत्साहजनक रहे। व्यवसाय विस्तार हुँदै गइरहेको थियो। तर, केही वर्षअघि अफ्रिकन स्वाइन फिभरको प्रकोपले उहाँको सपना लगभग तहसनहस बनायो। फर्ममा रहेका अधिकांश बंगुर मरे। वर्षौंको मेहनत र लगानी एकैपटक संकटमा पर्यो। ‘स्वाइन फिभर लागेर लगभग सबै बंगुर मरेका थिए,‘ उहाँ विगत सम्झिनु हुन्छ त्यसपछि फेरि उठ्न सजिलो थिएन। व्यवसायलाई पुनः विस्तार गर्न पूँजीको आवश्यकता थियो।‘ यही कठिन समयमा उहाँको सहयात्री बन्यो वीरेन्द्रनगर साकोस। सहकारीबाट प्राप्त ऋणले व्यवसाय पुनःस्थापनाको आधार तयार गरिदियो। त्यसले नयाँ बंगुर खरिद गर्न, दाना व्यवस्थापन गर्न र फर्मलाई फेरि पुरानै लयमा फर्काउन मद्दत पुर्यायो।त्यसबेला लगानीको अभाव थियो। सहकारीबाट ऋण पाएपछि व्यवसाय पुनः सञ्चालन गर्न धेरै सहज भयो चौधरी भन्नुहुन्छ । अहिलेसम्म पनि त्यसको सहयोगले व्यवसाय अघि बढिरहेको छ।हाल उहाँको फर्मको मुख्य कारोवार बंगुरपालन हो। फर्ममा रहेका दुईवटा खोरमध्ये एउटा खाली हुँदा त्यसमा ब्रोइलर कुखुरा पनि पाल्ने गरेका छन्। विगत दुई वर्षदेखि बंगुरसँगै कुखुरापालनलाई पनि निरन्तरता दिइरहेका छन्। उनको व्यवसाय सञ्चालनको एउटा विशेषता भनेको गुणस्तरमा सम्झौता नगर्नु हो। बंगुरलाई बजारका फोहोर वा अवशेषजन्य आहार खुवाउनुको सट्टा दानामै निर्भर रहने गरेका छन्। त्यसैले उनको उत्पादन लागतको ठूलो हिस्सा दानामै खर्च हुन्छ। तर, यसले पशुको स्वास्थ्य र उत्पादनको गुणस्तर कायम राख्न सहयोग गरेको उहाँको विश्वास छ। चौधरीको सफलताको पछाडि निरन्तरता र प्रतिबद्धता पनि उत्तिकै महत्वपूर्ण छ।
मैले पहिले पनि ऋण लिएर समयमै तिरेको थिएँ। यो व्यवसाय पनि १०-१२ वर्षदेखि गरिरहेको थिएँ उहाँ भन्नुहुन्छ सायद त्यही आधारमा सहकारीले विश्वास गर्यो।आज उहाँको फार्म केवल आम्दानीको स्रोत मात्र बनेको छैन अरूका लागि सिकाइको केन्द्र पनि बनेको छ। व्यवसाय राम्रो चलेका बेला धेरै मानिसहरू फर्म अवलोकन गर्न आउने, सिक्ने र प्रेरणा लिएर फर्किने गरेको उहाँ सुनाउँनु हुन्छ।पहिले धेरै मानिसहरू हेर्न आउनु हुन्थ्यो। सिकेर पनि जानु हुन्थ्यो, उहाँ भन्नु हुन्छ स्वदेशमै केही गर्न चाहनेका लागि यो एउटा उदाहरण हुन सक्छ।बजार व्यवस्थापनका हिसाबले पनि उहाँको अनुभव उत्साहजनक छ। बंगुरका पाठापाठीदेखि मासुसम्मको माग उच्च रहेको उहाँ बताउँनु हुन्छ । मागअनुसार उत्पादन गर्न नसकिएको अवस्था समेत छ। रोगको प्रकोप फैलिएको समयमा भने बजारमा असन्तुलन आउने र त्यसले असर पार्ने गरेको उहाँको अनुभव छ।सामान्य अवस्थामा बजारको कुनै समस्या छैन “माग धेरै छ, बरू उत्पादनले पुर्याउन सकेको छैन ।विदेशमा रोजगारी खोज्न युवाहरूको लर्को लागिरहेका बेला चौधरी भने नेपालमै सम्भावना खोज्नु पर्ने बताउँनु हुन्छ। विशेषगरी पशुपालन क्षेत्रमा अझै प्रशस्त अवसर रहेको उहाँको धारणा छ। उहाँका अनुसार बंगुरपालन तुलनात्मक रूपमा लाभदायक व्यवसाय हो।
रोग व्यवस्थापनमा ध्यान दिने र उचित दाना खुवाउने हो भने छ-सात महिनामै एक क्विन्टलसम्मको बंगुर उत्पादन गर्न सकिन्छ। पाठापाठी र मासु दुवैको बजार राम्रो भएकाले लगानीको प्रतिफल पनि सन्तोषजनक छ। सहकारीसँगको सम्बन्धबारे सोध्दा उहाँ खुलेरै प्रशंसा गर्नुहुन्छ । ऋण प्रवाहदेखि सेवा व्यवस्थापनसम्म सहकारीको कामप्रति उहाँ सन्तुष्ट हुनुहुन्छ। ऋण असुलीमा अनुशासन आवश्यक भए पनि अनावश्यक दबाब नभएको उहाँको अनुभव छ। ‘सेवा प्रवाह राम्रो छ, सहकारीले पनि आफ्नो अस्तित्व टिकाउन अनुशासन चाहिन्छ उहाँ भन्नुहुन्छ समग्रमा म सन्तुष्ट छु।एक समय कक्षाकोठामा भविष्य निर्माणका पाठ पढाउने बिमलकान्त चौधरी आज खेतबारी र पशु फार्मबाट आत्मनिर्भर जीवनको पाठ सिकाइरहनु भएको छ। स्वाइन फिभरले व्यवसाय ध्वस्त बनाएको अवस्थाबाट पुनः उठेर सफल किसान बन्ने उहाँको यात्रा केवल व्यक्तिगत सफलता होइन, स्वदेशमै सम्भावना खोज्ने युवाहरूका लागि प्रेरणादायी सन्देश पनि हो। उहाँको अनुभवले अवसर खोज्न विदेश नै पुग्नुपर्छ भन्ने छैन। मेहनत, सीप, धैर्य र आवश्यक सहयोग पाए नेपालमै पनि सम्मानजनक आम्दानी र सफल भविष्य निर्माण गर्न सकिन्छ। बिमलकान्त चौधरीको आत्मविश्वासी भनाइमा, ‘नेपालमै सबै छ।‘
देवकोटा सब्जी मण्डीले (लक्ष्मण देवकोटा खत्री)
सुर्खेतको वीरेन्द्रनगर बजारमा झण्डै दुई दशक अघिदेखि सञ्चालनमा आएको थियो, देवकोटा सब्जी मण्डी । वीरेन्द्रनगरमा मात्र नभई कर्णालीका अधिकांश जिल्लामा देवकोटा सब्जी मण्डीले तरकारी तथा फलफूलको माग पूर्ति गर्दै आएको छ । तरकारी र फलफूलको थोक तथा खुद्रा कारोबार गर्दै आइरहेको देवकोटा सब्जी मण्डी दुई दशकको यात्रामा स्थानीय उपभोक्ता र किसान दुवैको भरोसायोग्य व्यवसायिक केन्द्र बनिरहेको छ । यही व्यवसायका सञ्चालक हुनुहुन्छ लक्ष्मण देवकोटा खत्री, जसको जीवनकथा सहकारी, संघर्ष र उद्यमशीलतासँग जोडिएको छ ।
खत्रीले २०६२ साल चैत्र २० गतेदेखि तरकारी तथा फलफूल व्यवसाय सुरू गर्नु भएको थियो । सुरूमा करिब ३५ हजार रूपैयाँको सानो पूँजीबाट थालिएको व्यवसाय अहिले २२ जना भन्दा बढीलाई रोजगारी दिने गरी करोडौंको पूँजीमा उभिएको छ । उहाँ भन्नुहुन्छ, “पहिला कृषि विकास बैंकबाट ३५ हजार ऋण लिएँ, त्यसपछि विस्तारै वीरेन्द्रनगर साकोसबाट लिएको कर्जा र सहकार्यले व्यवसायलाई यहाँसम्म ल्यायो ।” उहाँ २०६३ साल असारदेखि वीरेन्द्रनगर साकोससँग आबद्ध हुनुहुन्छ। त्यो समय सहकारीप्रति विश्वास कम थियो र वित्तीय पहुँच पनि सीमित थियो तर वीरेन्द्रनगर साकोस साना व्यवसायीहरूका लागि सहज ऋण प्रवाहको माध्यम बनेको उहाँको अनुभव छ । “२० हजारदेखि एक लाख रूपैयाँसम्मको ऋण पनि तत्कालै पाइन्थ्यो, जसले हामी जस्ता साना व्यवसायलाई ठूलो आधार दियो,” उहाँ सम्झनु हुन्छ । खत्रीका अनुसार सहकारी र व्यवसायीबीचको सम्बन्ध केवल वित्तीय मात्र नभई पारिवारिक जस्तै बनेको छ । सहकारीका नेतृत्वकर्ताप्रति उहाँको उच्च सम्मान छ । विशेषगरी कर्मचारिहरूको नेतृत्व गर्नु भएका संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री छत्रबहादुर थापाले सहकारीलाई सशक्त बनाउँदै सदस्यहरूको विश्वास जितेको उहाँ बताउनु हुन्छ । “उहाँले आफ्नो घरजस्तो माया गरेर संस्थालाई हुर्काउनु भयो विगत सम्झदै उहाँ भन्नुहुन्छ ।
शिक्षण पेशाबाट आउनुभएका देवकोटाको जीवनमा द्वन्द्वकालीन परिस्थितिले ठूलो परिवर्तन ल्यायो । विद्यालयहरू बन्द भएपछि रोजगारीको अनिश्चितताबीच उहाँ व्यापारतर्फ मोडिनुभयो । सुरूमा कुनै ठोस अध्ययन वा योजनाबिना सुरू भएको तरकारी व्यवसाय आज सुर्खेतको प्रमुख आपूर्ति केन्द्रमध्ये एक बनेको छ । हाल देवकोटा सब्जी मण्डीमा प्रत्यक्ष रूपमा २२ जना कर्मचारी कार्यरत छन् भने परिवारसहित २४ जनाको जीविकोपार्जन यही व्यवसायमा निर्भर छ । अप्रत्यक्ष रूपमा यो व्यवसायले किसानदेखि उपभोक्तासम्म ठूलो प्रभाव पारेको उहाँ बताउनु हुन्छ । “पहिला किसानलाई भुक्तानी ढिलो हुन्थ्यो, अहिले समयमै पैसा पाउने भएकाले उत्पादन पनि बढेको छ उहाँ भन्नुहुन्छ ।उहाँको अनुभवमा सहकारीले दिएको ऋण व्यक्तिगत पैसा होइन, जिम्मेवारी सहितको पूँजी हो ।गलत प्रयोग गरे असफलता निश्चित हुने र सही उपयोग गरे मात्र सफलता सम्भव हुने उहाँको निष्कर्ष छ । “यो पैसा मेरो व्यक्तिगत होइन, संस्थाको हो भन्ने सोचले नै व्यवसाय टिक्छ उहाँ भन्नुहुन्छ । आज तरकारी तथा फलफूल बजारमा नेपाली उत्पादनको हिस्सा उल्लेखनीय रूपमा बढेको छ । देवकोटाका अनुसार उहाँको पसलमा करिब ९० प्रतिशत तरकारी तथा फलफुल नेपाली उत्पादन नै छन।सरकारको आयात प्रतिस्थापन नीतिले पनि स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको उहाँ बताउनु हुन्छ ।
उहाँ केवल व्यवसायी मात्र नभइ उद्योग वाणिज्य क्षेत्रसँग पनि जोडिनु भएको छन। त्यही अनुभवका आधारमा उहाँ सहकारीहरूलाई आगामी दिनमा परियोजनामा आधारित लगानीतर्फ जान सुझाव दिनुहुन्छ । उहाँका अनुसार कागजी धितोभन्दा पनि परियोजनाको सम्भाव्यता मूल्याङ्कन गरेर लगानी गरे कृषक र व्यवसायी दुवै लाभान्वित हुन्छन् । उहाँ भन्नुहुन्छ सामूहिक लगानी र उत्पादनमा आधारित प्रणाली अपनाउन सके किसानको आयस्तर बढ्छ, विदेशिने पैसा रोक्न सकिन्छ ।साथै कृषि क्षेत्रमा सामूहिक लगानीले जोखिम घटाउने र उत्पादन वृद्धि गर्ने उहाँको विश्वास छ । देवकोटाको यो सफलताको कथा एक व्यवसायीमा मात्र सीमित छैन । सहकारी अवधारणाले साना उद्यमीलाई कसरी ठूलो अवसरमा रूपान्तरण गर्न सक्छ भन्ने उदाहरण पनि हो । सहकारी, किसान र व्यवसायबीचको त्रिकोणीय सम्बन्धलाई मजबुत बनाउँदै उहाँले देखाएको बाटो सुर्खेतको मात्र नभइ, समग्र ग्रामीण अर्थतन्त्रको सम्भावना बोकेको छ ।
तारा खाद्य तथा खुद्रा पसल सञ्चालन गरिरहनु भएका व्यवसायी ‘श्री हर्कबहादुर शाही’
सुर्खेतको वीरेन्द्रनगर-१, बाङ्गेसिमलमा रहेको एउटा खाद्यान्न पसलमा बिहानै देखि ग्राहकको चहलपहल हुन्छ। दैनिक उपभोग्य सामग्री खरिद गर्न आउने ग्राहकहरूको भीडले पसल व्यस्त देखिन्छ। आज सफल रूपमा सञ्चालन भइरहेको यो व्यवसाय कुनै समय सानो घुम्टीबाट सुरू भएको थियो। सीमित पूँजी, बैंकबाट ऋण लिन धितोको अभाव र व्यवसाय विस्तार गर्ने अवसर नपाउँदा भविष्य अन्योलमा थियो। तर, सहकारीको वित्तीय सहयोगले त्यही सानो व्यवसायलाई विस्तार मात्र गरेन, एक परिवारको आर्थिक अवस्था बदल्नुका साथै रोजगारी सिर्जना गर्ने आधार पनि बनायो। तारा खाद्य तथा खुद्रा पसल सञ्चालन गरिरहनु भएका व्यवसायी श्री हर्कबहादुर शाही आफ्नो व्यावसायिक यात्रालाई सम्झँदै भन्नुहुन्छ म अहिले होलसेल तथा खुद्रा दुवै व्यापार गर्छु। सुरूवातमा अवस्था निकै फरक थियो। बैंकमा धितो राख्ने सम्पत्ति थिएन, ऋण लिन सक्ने अवस्था पनि थिएन। त्यही बेला वीरेन्द्रनगर साकोस मेरो लागि भरोसाको आधार बन्यो।‘
करिब सात-आठ वर्षअघि वीरेन्द्रनगर साकोससँग आबद्ध भएका शाहीले सुरूमा नियमित बचत गर्न थाले। सहकारीसँगको सम्बन्ध विस्तार हुँदै जाँदा आवश्यकता पर्दा ऋण लिन सकिने विश्वास पनि बढ्यो। उनले सम्झिए, ‘सानो व्यवसाय चलाउन पनि पूँजी चाहिन्थ्यो। बैंकले धितो माग्थ्यो तर मसँग थिएन। सहकारीले भने बचत र सामूहिक जमानीको आधारमा ऋण उपलब्ध गरायो। सुरूमा तीन/चार लाख रूपैयाँ ऋण लिएँ। त्यसपछि पाँच लाख रूपैयाँसम्म ऋण चलाएँ। त्यही पैसाले मेरो व्यवसायको आधार तयार गरिदियो।‘ शाहीका अनुसार त्यतिबेला पाँच लाख रूपैयाँको लगानीले ठूलो परिमाणमा सामान खरिद गर्न सकिन्थ्यो। सहकारीबाट ऋण पाएपछि उनले बाहिरबाट खाद्यान्न वस्तुहरू ल्याउन थाल्नुभयो। ‘त्यो बेला पाँच लाख रूपैयाँको सामान ल्याउँदा निकै ठूलो परिमाण हुन्थ्यो। सामान आयो, बिक्री बढ्यो र आम्दानी पनि बढ्न थाल्यो। त्यहीँबाट म खुद्रा व्यापारीबाट विस्तारै होलसेल व्यवसायमा प्रवेश गरेँ,‘ उहाँ भन्नुहुन्छ।
उहाँको व्यावसायिक यात्राको अर्को महत्वपूर्ण पक्ष भनेको पेशागत परिवर्तन पनि हो। शाही पहिले शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो। परिवारका अरू सदस्यले सानो घुम्टी पसल सञ्चालन गरिरहेका थिय। समयसँगै व्यवसायको सम्भावना देखेपछि उहाँले शिक्षण पेशा छोडेर पूर्ण रूपमा व्यापारमा लाग्ने निर्णय गर्नुभयो। ‘त्यो बेला श्रीमतीले घुम्टी पसल चलाउनुहुन्थ्यो। पछि व्यवसाय विस्तार गर्ने अवसर देखियो। सहकारीबाट ऋण पाएपछि मैले पनि शिक्षण पेशा छोडेर व्यापारमा लाग्ने निर्णय गरेँ। अहिले त्यो निर्णय सही सावित भएको छ,‘ उहाँले भन्नुभयो। सहकारीले उपलब्ध गराएको ऋण मात्र होइन, त्यसको भुक्तानी प्रणालीले पनि व्यवसायीलाई सहज बनाएको उहाँको अनुभव छ। दैनिक बचत संकलनको व्यवस्थाले साना व्यवसायीलाई आर्थिक अनुशासन कायम गर्न सहयोग पुगेको उहाँ बताउँनुहुन्छ। हामीजस्ता साना व्यापारीले एकमुष्ट रकम जम्मा गर्न गाह्रो हुन्छ तर दैनिक दुई-तीन सय रूपैयाँ बचत गर्दै जाँदा किस्ता तिर्न सहज हुन्छ। सहकारीले दैनिक बचत संकलन गरेर किस्तामा समायोजन गर्ने व्यवस्था गरेको छ, जुन निकै प्रभावकारी लागेको छ । हर्कबहादुर शाहीको अनुभवले सहकारीले केवल ऋण प्रवाह गर्ने संस्थाका रूपमा मात्र नभई पूँजी निर्माणको माध्यमका रूपमा पनि काम गरिरहेको देखाउँछ। सीमित स्रोत भएका व्यक्तिलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने अवसर प्रदान गर्दा त्यसले व्यक्तिगत आम्दानी मात्र बढाउँदैन, स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउँछ। शाहीको जीवनमा आएको परिवर्तन त्यसको उदाहरण हो। कुनै समय भाडाको घरमा बस्ने उहाँ अहिले आर्थिक रूपमा आत्मनिर्भर बन्नुभएको छ। व्यवसाय विस्तारसँगै उहाँले अन्य युवालाई रोजगारीसमेत दिनुभएको छ। पहिले अरूको काम गर्थें अहिले आफ्नै व्यवसाय छ। अहिले दुई-तीन जना कर्मचारी राखेको छु। मेरो आम्दानी बढेको छ, परिवारको आर्थिक अवस्था सुध्रिएको छ। सहकारीको ऋण उत्पादनशील क्षेत्रमा लगानी गर्दा कस्तो परिणाम आउँछ भन्ने उदाहरण म आफैँ हुँ ।उहाँ भन्नुहुन्छ।
सहकारीमार्फत प्राप्त वित्तीय पहुँचले स्थानीय स्तरमा पूँजी निर्माण र रोजगारी सिर्जनामा कसरी योगदान पुर्याउँछ भन्ने कुरा शाहीको सफलताले देखाउँछ। शाहीको अनुभवले सहकारीले साना व्यवसायीलाई आवश्यक समयमा पूँजी उपलब्ध गराउँदा उनीहरू व्यवसाय विस्तार गर्न सक्षम हुन्छन्। व्यवसाय विस्तार हुँदा व्यापारिक गतिविधि बढ्छ आयआर्जनका अवसर सिर्जना हुन्छन् र थप जनशक्तिको आवश्यकता पर्छ। त्यसैले सहकारीको ऋण व्यक्तिगत लाभमा मात्र सीमित नभई समुदायको आर्थिक विकाससँग पनि जोडिने शाही बताउँनुहुन्छ। युवाहरू विदेश जाने सोचमा रहेको वर्तमान अवस्थामा शाहीको सन्देश फरक छ। ‘धेरै युवाले पैसा छैन भनेर विदेश जाने सोच बनाउँछन् तर सानो लगानीबाट पनि व्यवसाय सुरू गर्न सकिन्छ। सहकारीमा बचत गर्नुस्, विश्वास निर्माण गर्नुस्। आवश्यकता पर्दा ऋण लिनुस् र उत्पादनशील क्षेत्रमा लगानी गर्नुस्। सही ठाउँमा लगानी गरियो भने सानो व्यवसायले पनि ठूलो आम्दानी दिन सक्छ उहाँ भन्नुहुन्छ। उहाँको अनुभवले सहकारीबाट प्राप्त ऋण उपभोगमा होइन, उत्पादनशील क्षेत्रमा लगानी गरियो भने त्यसले व्यक्तिको आर्थिक अवस्था बदल्न सक्छ। अझ त्यस्तो लगानीले पूँजी निर्माण, स्वरोजगार र रोजगारी सिर्जनामार्फत स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने महत्वपूर्ण आधार तयार गर्छ। हर्कबहादुर शाहीको सफलताको कथा त्यसैको जीवन्त उदाहरण बनेको छ।
मध्यपश्चिम विश्वविद्यालयका पूर्वप्राध्यापक तथा प्रोफेसर श्री यामबहादुर कार्की
सहकारीको अवधारणा बचत र ऋणको कारोबार गर्ने संस्था मात्र होइन, समुदायको आर्थिक तथा सामाजिक रूपान्तरणको माध्यम पनि हो । नेपालमा सहकारी आन्दोलनले विभिन्न उतारचढाव पार गर्दै आएको छ । कतिपय सहकारी संस्थाहरू आर्थिक अनियमितता र कमजोर व्यवस्थापनका कारण संकटमा परे भने केही संस्थाहरूले सदस्यको विश्वास कायम राख्दै उदाहरणीय अभ्यास प्रस्तुत गरेका छन्।सुर्खेतको वीरेन्द्रनगरमा मुख्य कार्यालय रहेको वीरेन्द्रनगर साकोस त्यस्तै संस्थामध्ये एक हो, जसले आफ्नो स्थापनाकालदेखि नै सदस्य केन्द्रित सेवा र सुशासनलाई प्राथमिकतामा राख्दै भविश्यको यात्रा तय गरिरहेको छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ मध्यपश्चिम विश्वविद्यालयका पूर्वप्राध्यापक श्री यामबहादुर कार्की ।
उहाँ २०७३ सालदेखि सहकारी अभियानसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ।नवबौद्धिक साकोसबाट सहकारी यात्रामा प्रवेश गर्नु भएका वुद्धिजिवी कार्की दुई संस्थाबीचको एकतापछिको चरणदेखि वीरेन्द्रनगर साकोससँग निरन्तर आबद्ध हुनुहन्छ ।उहाँको अनुभवमा सहकारीप्रतिको विश्वास आर्थिक कारोबारबाट मात्र होइन, संस्थाले सदस्यलाई दिएको व्यवहार, सेवा र अपनत्वबाट निर्माण हुन्छ । कार्कीका अनुसार वीरेन्द्रनगर साकोसबारे उहाँले पहिलो जानकारी परिवार र अन्य सदस्यहरूमार्फत पाएको सुनाउनु हुन्छ । संस्थामा आबद्ध भएपछि उहाँले आवश्यकता अनुसार ऋण सुविधा उपयोग गरेको सुनाउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “यस संस्थाले सदस्यको आवश्यकतालाई केन्द्रमा राखेर काम गरिरहेको अनुभूति हुन्छ।कर्मचारी र पदाधिकारी बौद्धिक छन, व्यवहार सकारात्मक र सम्मानजनक छ।सदस्य संस्थामा जाँदा त्यहाँका कर्मचारीहरूको व्यवहारले हामीलाई सम्मान भएको आभास हुन्छ ।”
नेपालको सहकारी क्षेत्रको विगतलाई स्मरण गर्दा केही गम्भिर चुनौतीहरू पनि देख्नुहुन्छ । उहाँका अनुसार करिब एक दशक अघि सहकारी संस्थाहरू तीव्र रूपमा विस्तार भए ।सर्वसाधारणले बैंकभन्दा सहज पहुँच हुने भएकाले सहकारीमा बचत गर्न र ऋण लिन रूचाए । तर, वित्तीय अनुशासन कमजोर भएका केही संस्थाहरूले सदस्यको विश्वासमाथि चोट पुर्याए। ऋण लगानीमा पारदर्शिताको अभाव, असुलीमा कमजोरी, व्यवस्थापनमा लापरवाही तथा राजनीतिक वा व्यक्तिगत प्रभावका कारण धेरै सहकारी संकटमा परे ।
परिणामस्वरूप हजारौँ सर्वसाधारणको बचत जोखिममा पर्यो । यद्यपि पछिल्ला वर्षहरूमा सहकारी क्षेत्र सुधारको दिशातर्फ उन्मुख भएको देखिएको छ। नियामक निकायको सक्रियता, वित्तीय अनुशासनमा जोड तथा सुशासनका अभ्यासले सदस्यमा पुनः विश्वास बढाउन थालेको कार्कीको बुझाइ छ । “अहिले बचत सुरक्षित रहन्छ भन्ने भावना विस्तारै विकास हुँदै गएको छ उहाँ भन्नुहुन्छ । उहाँका अनुसार सरकारको सुशासनमुखी प्रयास र संस्थाहरूभित्रको सुधारले सहकारीप्रतिको नकारात्मक धारणा क्रमशः परिवर्तन हुँदै गएको छ । वीरेन्द्रनगर साकोसले अहिले सञ्चालन गरिरहेका बचत तथा ऋण सेवाहरूलाई अझ प्रभावकारी बनाउँदै नयाँ वित्तीय कार्यक्रमहरू थप्नुपर्ने आवश्यकता कार्कीले औंल्याउनु भएको छ । विशेषगरी युवा उद्यमशीलता प्रवर्द्धन गर्ने सहुलियतपूर्ण कर्जा, कृषि तथा पशुपालनमा आधारित उत्पादनमूलक ऋण, महिला उद्यमीका लागि विशेष वित्तीय प्याकेज, शैक्षिक ऋण तथा डिजिटल वित्तीय सेवा विस्तार गर्नुपर्ने उहाँको सुझाव छ ।आजको प्रतिस्पर्धी समयमा सहकारीले सदस्यको बदलिँदो आवश्यकतालाई बुझेर सेवा विस्तार गर्न सके मात्र दीर्घकालीन रूपमा सफल हुन सक्ने उहाँ बताउनु हुन्छ ।
वित्तीय सेवासँगै गैरवित्तीय कार्यक्रमहरू पनि उत्तिकै महत्त्वपूर्ण रहेको उहाँको धारणा छ । सहकारीले वित्तीय साक्षरता सम्बन्धी तालिम, उद्यम विकास कार्यक्रम, कृषि प्रविधि सम्बन्धी अभिमुखीकरण, युवा नेतृत्व विकास, महिला सशक्तीकरण, स्वास्थ्य सचेतना तथा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँ बताउनु हुन्छ । यस्ता कार्यक्रमले सदस्यको आर्थिक अवस्था मात्र होइन, सामाजिक चेतना र क्षमता अभिवृद्धिमा समेत योगदान पुर्याउने उहाँको विश्वास छ । कार्कीका अनुसार कुनै पनि सहकारी संस्थाको सबैभन्दा ठूलो सम्पत्ति सदस्यको विश्वास हो । त्यो विश्वास कायम राख्न पारदर्शिता अपरिहार्य हुन्छ । संस्थाले आफ्नो आर्थिक अवस्था, बचत तथा ऋणको स्थिति, लगानीका क्षेत्र, उपलब्धी र चुनौतीबारे सदस्यलाई नियमित जानकारी गराउनुपर्छ । वार्षिक साधारणसभा मात्र होइन, वर्षभरि नै सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने उहाँ बताउनु हुन्छ । सदस्यलाई संस्थाको वास्तविक अवस्थाबारे जानकारी हुँदा भ्रम र अविश्वास स्वतः कम हुने उहाँको भनाइ छ । उहाँले जवाफदेहिता र सुशासनलाई पनि संस्थाको दीर्घकालीन सफलताको आधार मान्नु पर्ने बताउनु हुन्छ। “निष्पक्षता, पारदर्शिता र सदस्यसँगको राम्रो सम्बन्धले मात्रै संस्थालाई दिगो बनाउन सक्छ,” कार्की भन्नुहुन्छ।
सदस्यका सुझाव, गुनासा र अपेक्षालाई समयमै सम्बोधन गर्ने संस्कृतिले संस्थालाई अझ विश्वासयोग्य बनाउने उनको धारणा छ । वीरेन्द्रनगर साकोसले आफ्नो २५औँ स्थापना दिवस मनाउँदै गर्दा कार्कीको शुभकामना पनि यही छ —संस्थाले सदस्यको विश्वासलाई अझ बलियो बनाओस्, सेवा विस्तार गरोस्, पारदर्शितालाई संस्थागत गरोस् र समुदायको आर्थिक तथा सामाजिक विकासमा अझ प्रभावकारी भूमिका खेलोस् । उहाँका अनुसार सहकारीको सफलता केवल आर्थिक सूचकाङ्कले मापन हुँदैन; सदस्यको सन्तुष्टि, विश्वास र सहभागिताले त्यसको वास्तविक मूल्य निर्धारण गर्छ । विगतका चुनौतीबाट पाठ सिक्दै वर्तमानको भरोसालाई थप मजबुत बनाउने र भविष्यका अवसरलाई समेट्ने हो भने वीरेन्द्रनगर साकोस आगामी वर्षहरूमा अझ सशक्त, विश्वसनीय र नमूना सहकारी संस्थाका रूपमा स्थापित हुन सक्ने पर्याप्त आधार देखेको हुनुहुन्छ कार्कीले ।
‘मामा-भान्जा कृषि उपज बिक्री केन्द्र’ शेयर सदस्य भिउदे वली
सुर्खेतको मेहेलकुना क्षेत्र कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ । यही क्षेत्रमा सञ्चालित ‘मामा-भान्जा कृषि उपज बिक्री केन्द्र‘ स्थानीय किसान र बजार बिचको सेतुका रूपमा स्थापित हुँदै गएको छ । यस केन्द्रका सञ्चालक भिउदे वलीले दुई दशकभन्दा लामो व्यवसायिक यात्रामा अनेक उतारचढाव पार गर्दै सफलता हासिल गर्नुभएको छ । उहाँको यो यात्रालाई गति दिन वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाको मेहेलकुना सेवा केन्द्रले निरन्तर साथ दिएको छ । वि.सं. २०६३ सालबाट कृषि उपज खरिद-बिक्री व्यवसाय सुरु गर्नुभएका वली आज क्षेत्रकै परिचित व्यवसायीका रूपमा चिनिनुहुन्छ । सुरुआती चरणमा सानो स्तरबाट सुरु भएको व्यवसाय अहिले व्यवस्थित कृषि उपज बिक्री केन्द्रका रूपमा विस्तार भएको छ । उहाँका अनुसार व्यवसाय विस्तारको प्रमुख आधारमध्ये एक वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था पनि हो । वि.सं. २०७१ सालदेखि सहकारी संस्थासँग आबद्ध हुनुभएका उहाँले संस्थाबाट प्राप्त ऋण तथा वित्तीय सेवामार्फत व्यवसायलाई निरन्तर विस्तार गर्दै लैजानु भएको छ । “व्यवसाय सञ्चालनका लागि आवश्यक पर्दा संस्थाले जहिले पनि साथ दिएको छ,” उहाँ भन्नुहुन्छ, “आवश्यकताअनुसार ऋण प्राप्त भएकाले व्यवसायलाई अगाडि बढाउन सहज भएको छ ।”
व्यवसायको प्रारम्भिक चरण सम्झँदै उहाँ भन्नुहुन्छ, “सुरुमा सानो पसल थियो, अहिले व्यवसाय विस्तार भएको छ । विभिन्न ठाउँसँग सम्पर्क बढेको छ, कारोबारको दायरा पनि फराकिलो भएको छ।” उहाँका अनुसार सहकारीबाट प्राप्त वित्तीय सहयोगले व्यवसायलाई स्थायित्व दिन महत्वपूर्ण भूमिका खेलेको छ । कृषि उपज बिक्री केन्द्रमार्फत उहाँले स्थानीय किसानका उत्पादनलाई बजारसम्म पुर्याउने काम गर्दै आउनुभएको छ । मेहेलकुना आसपासका किसानहरूले उत्पादन गरेका तरकारी तथा कृषि उपज प्रत्यक्ष रूपमा केन्द्रमा ल्याउने गरेका छन् । यसले किसानलाई बजार खोज्ने झन्झट कम हुनुका साथै उत्पादन बिक्री गर्न सहज वातावरण सिर्जना गरेको छ । सुरुमा पवित्र जनकल्याण सहकारीसँग साझेदारीमा कृषि उपज संकलन केन्द्र सञ्चालन गरिएको थियो । पछि व्यवसायलाई थप व्यवस्थित बनाउने उद्देश्यले आफ्नै नाममा ‘मामा-भान्जा कृषि उपज बिक्री केन्द्र‘ दर्ता गरी सञ्चालन गर्नुभएको हो । अहिले स्थानीय किसानका उत्पादनसँगै बाहिरी जिल्लाबाट समेत कृषि उपज आउने गरेको उहाँ बताउनुहुन्छ ।
व्यवसाय सञ्चालनका क्रममा उहाँले अन्य कुनै अनुदान वा विशेष सुविधा नलिए पनि विभिन्न वित्तीय संस्थाबाट ऋण प्रयोग गर्नुभएको अनुभव छ । विशेषगरी वीरेन्द्रनगर सहकारीमार्फत प्राप्त युवा स्वरोजगार ऋणले व्यवसाय विस्तारमा उल्लेखनीय योगदान पुर्याएको उहाँ बताउनुहुन्छ । उक्त कार्यक्रम अन्तर्गत ब्याज अनुदानको सुविधा समेत प्राप्त भएको अनुभव उहाँसँग छ । व्यवसायबाट प्राप्त आम्दानीले उहाँको परिवारको आर्थिक अवस्था सुदृढ बनेको छ । त्यति मात्र होइन, स्थानीय किसानहरूको उत्पादन खरिद-बिक्रीमार्फत समुदायको आयआर्जनमा समेत सकारात्मक प्रभाव परेको उहाँको विश्वास छ । “किसानले उत्पादन गरेको वस्तु बजारसम्म पुग्ने वातावरण बनेको छ, यसले उहाँहरूलाई पनि लाभ पुगेको छ,” उहाँ भन्नुहुन्छ । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाप्रति उहाँको विश्वास बलियो छ । संस्थाका कर्मचारीहरूको व्यवहार, सेवा प्रवाह र सदस्य मैत्री कार्यशैलीबाट उहाँ सन्तुष्ट हुनुहुन्छ । “अहिलेसम्म कर्मचारीहरूले राम्रो व्यवहार गर्नुभएको छ । संस्थाको सेवा र सुविधा पनि स्पष्ट र व्यवस्थित छ,” उहाँको भनाइ छ । व्यवसाय सुरु गर्न चाहने नयाँ पुस्ताका लागि उहाँको सन्देश पनि स्पष्ट छ । उहाँका अनुसार व्यवसाय गर्न इच्छुक व्यक्तिले योजना बनाएर व्यवसायमा लाग्नुपर्छ र सहकारीसँग आबद्ध भई आवश्यक वित्तीय सहयोग लिनुपर्छ । साथै, व्यवसायका लागि लिएको ऋण सोही उद्देश्यमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुहुन्छ ।
“व्यवसायका लागि लिएको ऋण अन्यत्र लगानी गरियो भने समस्या आउन सक्छ । त्यसैले उद्देश्यअनुसार प्रयोग गर्नु आवश्यक हुन्छ,” उहाँको सुझाव छ । सहकारीसँगको सहकार्यबाट प्राप्त सबैभन्दा ठूलो सिकाइ भनेको ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी आम्दानी सिर्जना गर्नु रहेको उहाँ बताउनुहुन्छ । आगामी दिनमा पनि सहकारी संस्थाले सदस्यहरूलाई खाली हात नफर्कार्इ व्यवसाय गर्न प्रेरित गर्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँको अपेक्षा छ । भिउदे वलीको यात्रा सहकारी र उद्यमशीलताको सफल साझेदारीको उदाहरण हो । वित्तीय पहुँच, आत्मविश्वास र निरन्तर परिश्रमको संयोजनले सानो व्यवसायलाई कसरी दिगो उद्यममा रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश उहाँको व्यावसायिक यात्राले दिन्छ ।
‘देवीशा पशुपन्छी कृषि फर्म’ शेयर सदस्य टोपबहादुर गिरी
सुर्खेतको बावियाचौर स्थित स्थानीय स्तरमा सफल कृषि उद्यमको उदाहरणका रूपमा परिचित बन्दै गएको छ । यस फर्मका सञ्चालक टोपबहादुर गिरीले वर्षौंसम्म भारतमा श्रम गरेर आर्जन गरेको अनुभवलाई आफ्नै गाउँको माटोसँग जोड्दै कृषि तथा पशुपन्छी व्यवसायमा उल्लेखनीय सफलता हासिल गर्नुभएको छ । उहाँको यो यात्रामा वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि.को अभ्यूदय सेवा केन्द्रले आर्थिक सहयात्रीका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । गिरीले करिब १७-१८ वर्ष भारतमा श्रम गर्नुभयो । त्यहाँ कमाएको आम्दानीले परिवारको जीविकोपार्जन, छोराछोरीको शिक्षा तथा घरपरिवारको दैनिकी चलाउन सहयोग पुग्यो । तर, समयक्रममा उहाँले विदेशको कमाइ मात्र दीर्घकालीन समाधान नहुने निष्कर्ष निकाल्नुभयो । आफ्नै गाउँमा बसेर केही सिर्जना गर्न सकिने सम्भावना देख्नु भएपछि उहाँ कृषि व्यवसायतर्फ आकर्षित हुनुभयो । “विदेशमा मात्रै जीवन बिताएर हुँदैन रहेछ, आफ्नै देशको माटोमा पसिना बगाउँदा आत्मसन्तुष्टि र सम्मान दुवै प्राप्त हुँदो रहेछ,” उहाँको अनुभूति छ । यस सोचलाई व्यवहारमा उतार्दै उहाँले कृषि तथा पशुपन्छी व्यवसाय सुरु गर्नुभयो । हाल उहाँको फर्ममा ब्रोइलर कुखुरा पालन, तरकारी खेती, केरा बगैँचा तथा बाख्रापालन सञ्चालन भइरहेको छ । करिब ६०० भन्दा बढी कुखुरा उत्पादन गरिरहनुभएको छ भने तरकारी र फलफूल खेतीबाट पनि नियमित आम्दानी भइरहेको छ । परिवारका सदस्यहरू समेत यस व्यवसायमा सक्रिय रूपमा संलग्न छन् । विदेश जाने सोच बनाएका छोराछोरीलाई पनि स्वदेशमै उद्यम गर्न प्रेरित गर्नुभएको छ ।
गिरीले कृषि व्यवसाय सुरु गरेको झण्डै नौ वर्ष पुगेको छ । व्यवसाय विस्तारका क्रममा वित्तीय स्रोतको आवश्यकता महसुस भएपछि उहाँ पाँच वर्षअघि वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थासँग आबद्ध हुनुभयो । सहकारीको सेवाबारे जानकारी पाएपछि सदस्यता ग्रहण गर्नुभएको उहाँ बताउनुहुन्छ । सहकारीसँग आबद्ध भएपछि उहाँले दुई लाख रुपैयाँ ऋण प्राप्त गर्नुभयो । उक्त ऋणले व्यवसायलाई थप व्यवस्थित बनाउन र उत्पादन विस्तार गर्न महत्वपूर्ण सहयोग पुगेको उहाँको भनाइ छ । ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच सीमित भएका बेला सहकारीले सहज रूपमा ऋण उपलब्ध गराएर कृषक उद्यमीलाई राहत प्रदान गरिरहेको उहाँको अनुभव छ । यद्यपि कृषि क्षेत्रमा चुनौतीहरू अझै विद्यमान छन् । बालीमा लाग्ने रोग, पशु पन्छीको स्वास्थ्य व्यवस्थापन, उन्नत बीउ बिजनको छनोट तथा आधुनिक कृषि प्रविधिसम्बन्धी ज्ञानको अभावले किसानहरू प्रभावित हुने गरेका छन् । स्थानीय सरकार तथा सम्बन्धित निकायबाट अपेक्षित तालिम र प्राविधिक सहयोग पर्याप्त रूपमा प्राप्त हुन नसकेको उहाँको गुनासो छ । बजार व्यवस्थापनको समस्या पनि उत्तिकै जटिल रहेको उहाँ बताउनुहुन्छ । किसानले उत्पादन गरेका कृषि उपज अत्यन्त कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको छ । खेतबाट सस्तो मूल्यमा बिक्री भएका तरकारी तथा फलफूल उपभोक्तासम्म पुग्दा दोब्बर वा तेब्बर मूल्यमा बिक्री हुने गरेको उहाँको अनुभव छ । यसले किसानको श्रम अनुसारको प्रतिफल प्राप्त हुन नसकेको उहाँको निष्कर्ष छ ।
कृषि क्षेत्रलाई थप प्रभावकारी बनाउन सहकारी संस्थाले कृषि उद्यमी सदस्यहरूका लागि सहुलियतपूर्ण ऋण, कृषि प्राविधिक तालिम, रोग व्यवस्थापनसम्बन्धी प्रशिक्षण तथा उन्नत बीउबिजन उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव उहाँ दिनुहुन्छ । यस्ता कार्यक्रमले कृषकको उत्पादन क्षमता वृद्धि हुनुका साथै व्यवसायलाई दिगो बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ । गिरीको यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, स्वदेशमै सम्भावना खोज्न चाहने युवाहरूका लागि प्रेरणाको स्रोत पनि हो । विदेशमा वर्षौं श्रम गरेर प्राप्त अनुभवलाई आफ्नै गाउँको समृद्धिमा रूपान्तरण गर्नुभएको उहाँको प्रयास प्रशंसनीय छ । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले प्रदान गरेको वित्तीय सहयोगले उहाँको उद्यम यात्रालाई थप बलियो बनाएको छ । यदि सहकारी संस्था, स्थानीय सरकार तथा सरोकारवाला निकायहरूले यस्ता कृषक उद्यमीहरूलाई आवश्यक ज्ञान, सीप, प्रविधि र बजार व्यवस्थापनमा थप सहयोग पु¥याउन सके ग्रामीण अर्थतन्त्र सुदृढ बन्ने मात्र होइन, वैदेशिक रोजगारी प्रतिको निर्भरता समेत घटाउन महत्वपूर्ण योगदान पुग्ने निश्चित छ । टोपबहादुर गिरीजस्ता कृषक उद्यमीहरू नै आत्मनिर्भर गाउँ र समृद्ध नेपालको आधारस्तम्भ हुन् ।
‘मानिके कृषि फर्म’ व्यवसायी सदस्य लोकबहादुर थापा
कृषि क्षेत्रलाई व्यवसायिक, आधुनिक र आत्मनिर्भर बनाउने अभियानमा सहकारी संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । विशेषगरी ग्रामीण क्षेत्रका कृषकलाई वित्तीय पहुँच, प्राविधिक जानकारी र उद्यमशीलताको वातावरण उपलब्ध गराएर सहकारीहरूले कृषि रूपान्तरणमा योगदान पुर्याइरहेका छन् । सुर्खेतको बराह ताल गाउँपालिका-५, बड्डिचौरस्थित एक कृषकको ड्रागन फल खेतीको सफल यात्राले यस तथ्यलाई थप पुष्टि गरेको छ । यस सफलता का पछाडि वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि. को बड्डिचौर सेवा केन्द्रको महत्वपूर्ण साथ र सहयोग रहेको छ । संस्थामा शेयर सदस्य श्री लोकबहादुर थापाले सञ्चालन गर्नुभएको मानिक कृषि तथा पशुपन्छी फर्म अहिले ड्रागन फल उत्पादनका कारण परिचित बन्दै गएको छ । केही वर्षअघि युट्युब मार्फत ड्रागन फल खेतीबारे जानकारी प्राप्त गरेपछि उहाँले यसलाई व्यवसायिक रूपमा अघि बढाउने सोच बनाउनुभएको थियो । त्यतिबेला सुर्खेतमा ड्रागन फल खेती गर्ने कृषक अत्यन्तै न्यून थिए । नयाँ खेती भएकाले परिवार र समुदायमा समेत यसबारे पर्याप्त विश्वासको वातावरण थिएन । तर, उहाँले सम्भावनालाई पहिचान गर्दै जोखिम उठाउनुभयो । ड्रागन फल खेती सुरु गर्न प्रारम्भिक चरणमा पर्याप्त लगानी आवश्यक पर्छ । बिरुवा खरिद, पोल निर्माण, सिँचाइ व्यवस्थापन तथा अन्य पूर्वाधार निर्माणका लागि आर्थिक स्रोतको आवश्यकता पर्छ । यिनै चुनौतीका बीच वीरेन्द्रनगर सहकारीले उहाँलाई सहुलियत पूर्ण कृषि कर्जा उपलब्ध गरायो । सहकारीका कर्मचारीहरूले कृषि कर्जासम्बन्धी जानकारी प्रदान गर्नुका साथै आवश्यक कागजी प्रक्रिया सहज बनाइदिनुभयो । त्यसपछि प्राप्त भएको कृषि कर्जाले उहाँलाई व्यवसाय विस्तार गर्न ठूलो टेवा पुग्यो ।
थापाका अनुसार सहकारीबाट प्राप्त सहुलियतपूर्ण ऋणले महँगो ब्याजदरको आर्थिक दबाब कम गरिदियो । निजी स्रोतबाट ऋण लिनुपर्ने अवस्था अन्त्य भएपछि खेती व्यवस्थापनमा थप ध्यान केन्द्रित गर्न सहज भयो । सहकारीका कर्मचारीहरूले नियमित रूपमा सदस्यको घरमै पुगेर व्यवसायको अवस्था बुझ्ने, आवश्यक परामर्श दिने तथा ऋणको सदुपयोगबारे सचेत गराउने कार्य गर्दै आउनुभएको छ । यही कारण उहाँको सहकारी प्रतिको विश्वास अझ प्रगाढ बनेको छ । हाल उहाँको बगैंचामा असारदेखि मंसिरसम्म नियमित रूपमा ड्रागन फल उत्पादन हुने गरेको छ । स्थानीय बजारसँगै वीरेन्द्रनगर तथा अन्य क्षेत्रसम्म फल बिक्री हुने गरेको छ । सुरुवाती चरणमा उपभोक्ता माझ कम परिचित रहेको यो फल अहिले स्वास्थ्यका दृष्टिले लाभदायक मानिँदै माग बढिरहेको छ । फलस्वरूप उत्पादनको बजार व्यवस्थापनमा खासै कठिनाइ देखिएको छैन । ड्रागन फल खेतीबाट प्राप्त आम्दानीले उहाँको पारिवारिक आर्थिक अवस्था सुधारिएको छ । परम्परागत खेतीबाट प्राप्त हुने आम्दानीको तुलनामा यसबाट उल्लेखनीय आर्थिक लाभ प्राप्त भइरहेको उहाँ बताउनुहुन्छ । कृषि पेशालाई सम्मानजनक र आम्दानी मूलक बनाउन सकिने उदाहरणका रूपमा उहाँको खेती स्थापित भएको छ । यस सफलताले व्यक्तिगत लाभमा मात्र सीमित नरही समुदायमा समेत सकारात्मक प्रभाव पारेको छ । थापाले अन्य कृषकलाई ड्रागन फल खेतीका सम्भावना र फाइदाबारे जानकारी दिँदै आउनुभएको छ । उहाँले आफ्नै बगैंचाबाट बिरुवा उपलब्ध गराएर नयाँ कृषकलाई प्रोत्साहित समेत गर्नुभएको छ । परिणामस्वरूप आसपासका गाउँ तथा बस्तीहरूमा पनि ड्रागन फल खेती विस्तार हुने क्रम बढिरहेको छ ।
ड्रागन फल खेतीमा देखिने रोग तथा ढुसी नियन्त्रणका लागि उहाँले सकेसम्म जैविक विधिको प्रयोग गर्नुभएको छ । गोठेमल, गाई भैँसीको मूत्र तथा स्थानीय स्रोतबाट तयार गरिएका जैविक घोलको प्रयोगमार्फत स्वस्थ र गुणस्तरीय उत्पादनमा जोड दिनुभएको छ । थापाको अनुभवले कृषकको मेहनत, नवीन सोच र सहकारीको साथ एकसाथ जोडिँदा कृषि क्षेत्रमा उल्लेखनीय परिवर्तन सम्भव हुन्छ । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले सहुलियत पूर्ण कर्जा, सदस्य मैत्री सेवा तथा निरन्तर परामर्शमार्फत ड्रागन फल खेतीको व्यवसायिक प्रवद्बनमा महत्वपूर्ण योगदान पुर्याएको छ । कृषिलाई आत्मनिर्भरता, रोजगारी र समृद्धिको आधार बनाउने दिशामा सहकारीले निर्वाह गरिरहेको भूमिका वास्तवमै अनुकरणीय छ ।
‘बिनिता किराना पसल’ व्यवसायी सदस्य भवानी कुमारी खत्री राना
व्यवसाय सुरु गर्न ठूलो पूँजी नै चाहिन्छ भन्ने धारणा ग्रामीण समाजमा अझै पनि व्यापक छ । तर, सानो बचत, सहकारी प्रतिको विश्वास र निरन्तर मेहनतले पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि.को राकम सेवा केन्द्रकी महिला सदस्य भवानी कुमारी खत्री (राना) । दुई वर्षअघि सहकारीसँग आबद्ध भएर सुरु भएको उहाँको यात्रा आज सफल खुद्रा व्यापार सञ्चालनसम्म आइपुगेको छ । दुई वर्षदेखि वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाको सदस्य रहेकी उहाँले सहकारीलाई आर्थिक आवश्यकताका बेला भरपर्दो साथीका रूपमा लिनुभएको छ । दैनिक जीवनका आवश्यकता पूरा गर्न मात्र होइन, सानो व्यवसाय विस्तार गर्न पनि सहकारीले महत्वपूर्ण भूमिका खेलेको उहाँको अनुभव छ । उहाँले सञ्चालन गरिरहनु भएको व्यवसाय खुद्रा तथा सानो होलसेल प्रकृतिको किराना पसल हो । पसलमा दैनिक उपभोगका विभिन्न सामग्री बिक्री हुने गर्छन् । स्थानीय ग्राहकको आवश्यकता अनुसार सामान उपलब्ध गराउँदै उहाँले आफ्नो व्यवसायलाई क्रमशः विस्तार गर्दै लैजानुभएको छ । अहिले खुद्रा व्यापारसँगै केही सामान होलसेलमा समेत बिक्री हुन थालेको छ । व्यवसायको सुरुवाती चरण सहज थिएन । सीमित पूँजी, सीमित सामान र सीमित ग्राहकबीच व्यापार अगाडि बढाउनुपर्ने अवस्था थियो । त्यही समयमा सहकारीले उपलब्ध गराएको सानो ऋणले व्यवसायलाई नयाँ गति दियो । उहाँका अनुसार सहकारीबाट प्राप्त ऋणले पसलका लागि थप सामान खरिद गर्न र व्यवसाय विस्तार गर्न सहयोग पुग्यो । “पहिला थोरै सामान थियो।पछि सहकारीबाट ऋण पाए पछि सामान थप्दै गएँ। व्यापार पनि विस्तार हुँदै गयो,” उहाँ भन्नुहुन्छ ।
सहकारीबाट प्राप्त ऋणको अर्को महत्वपूर्ण पक्ष भनेको सहज भुक्तानी प्रणाली रहेको उहाँ बताउनुहुन्छ । दैनिक बचत गर्दै किस्ता तिर्न सकिने व्यवस्थाले आर्थिक दबाब कम भएको उहाँको अनुभव छ । “दिनमा सय रुपैयाँ बचत गर्दा पनि किस्ता तिर्न सजिलो हुँदो रहेछ,” उहाँले सुनाउनु भयो । यही व्यवस्थाले गर्दा ऋण लिने डर हटेको छ । आम्दानीसँगै किस्ता व्यवस्थापन गर्न सकिने भएपछि व्यवसाय सञ्चालनमा आत्मविश्वास बढेको उहाँको भनाइ छ । सहकारीले सदस्यको क्षमता अनुसार ऋण प्रवाह गर्ने भएकाले आर्थिक जोखिम पनि कम हुने उहाँको बुझाइ छ । व्यवसायको प्रभाव केवल आर्थिक क्षेत्रमा मात्र सीमित छैन । यसले परिवारमा पनि सकारात्मक परिवर्तन ल्याएको छ । परिवारका सदस्यहरूले व्यवसाय सञ्चालनमा निरन्तर साथ दिइरहेका छन् । श्रीमान् तथा परिवारका अन्य सदस्यको सहयोगले व्यापारलाई अझ व्यवस्थित बनाउन सहज भएको उहाँ बताउनुहुन्छ । समुदायको दृष्टिकोण पनि सकारात्मक रहेको उहाँको अनुभव छ । स्थानी व्यवासीले व्यवसायलाई राम्रो रूपमा लिएका छन् ।
सानो प्रयासबाट सुरु भएको व्यापार विस्तार हुँदै गएको देखेर अन्य व्यक्तिहरू पनि उत्साहित भएका छन् । सहकारीसँगको सम्बन्धले उहाँलाई एउटा महत्वपूर्ण सिकाइ दिएको छ—सानो बचतले पनि ठूलो परिवर्तन ल्याउन सक्छ । सुरुवातमा थोरै रकम बचत गर्न थालेकी उहाँले पछि आवश्यक पर्दा सहकारीबाट ऋण प्राप्त गर्नुभयो । त्यही ऋणलाई व्यवसायमा लगानी गर्नुभयो । व्यवसायबाट आम्दानी बढेपछि ऋण तिर्न सजिलो भयो र व्यापारलाई थप विस्तार गर्ने अवसर प्राप्त भयो । उहाँको अनुभवमा सहकारी केवल ऋण दिने संस्था होइन, आर्थिक अनुशासन सिकाउने विद्यालय पनि हो । नियमित बचत गर्ने बानी, जिम्मेवारीपूर्वक ऋण तिर्ने संस्कार र आय आर्जनका अवसर खोज्ने सोच सहकारी मार्फत विकास भएको उहाँ बताउनु हुन्छ । यही अनुभवका आधारमा उहाँ अन्य सदस्यलाई पनि व्यवसायतर्फ लाग्न प्रेरित गर्नुहुन्छ । व्यवसाय सुरु गर्न चाहने व्यक्तिले पहिले बचतको बानी बसाल्नुपर्ने, सहकारीको सदस्य बन्नुपर्ने र आफ्नो क्षमता अनुसार सानो स्तरबाट सुरुवात गर्नुपर्ने उहाँको सुझाव छ ।
सहकारीका कर्मचारी प्रति पनि उहाँ सन्तुष्ट देखिनु हुन्छ । कर्मचारीहरूले सदस्यलाई आवश्यक जानकारी दिने, बचत तथा ऋण व्यवस्थापन बारे सिकाउने र आवश्यक परामर्श प्रदान गर्ने काम गरिरहेको उहाँको भनाइ छ । “के गर्नु पर्छ, कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा कर्मचारीहरूले सिकाउनु हुन्छ,” उहाँ भन्नु हुन्छ । आज उहाँको सानो पसल केवल व्यापारको माध्यम मात्र बनेको छैन, आत्मनिर्भरताको आधार पनि बनेको छ । सहकारीबाट प्राप्त सहयोग, परिवारको साथ र आफ्नै मेहनतको परिणाम स्वरूप उहाँ आर्थिक रूपमा सबल बन्दै जानु भएको छ । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले साना उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराएर आर्थिक रूपान्तरणको मार्ग खोलिरहेको छ । त्यसैको एउटा जीवन्त उदाहरण हो —सानो पसलबाट सुरु भएको भवानी कुमारी खत्रीको आत्मनिर्भरताको यात्रा ।
व्यवसायी सदस्य मिना दाहाल
सुर्खेतको भेरीगंगा नगरपालिका-९ निवासी मिना दाहाल स्थानीय स्तरमा सफल महिला उद्यमीका रूपमा परिचित हुनुहुन्छ । बाख्रापालन, ब्रोइलर कुखुरापालन तथा खुद्रा व्यापारलाई एकसाथ अघि बढाउँदै उहाँले आफ्नै मेहनत र लगनशीलताका बलमा व्यवसायलाई विस्तार गर्न सफल हुनुभएको छ । उहाँको यो उद्यमशील यात्रामा वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाको जहरे सेवा केन्द्रले वित्तीय साझेदारका रूपमा महत्वपूर्ण साथ दिएको छ ।करिब पाँच–छ वर्षअघि उहाँ वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थासँग आबद्ध हुनुभएको थियो । सुरुमा आफ्नी नन्दको प्रेरणामा बचत गर्न थालेकी उहाँले क्रमशः सहकारीका अन्य सेवा र सुविधाबारे जानकारी प्राप्त गर्नुभयो । बचतको माध्यमबाट सुरु भएको सम्बन्ध पछि व्यवसायिक साझेदारीमा रूपान्तरण भयो । “सुरुमा बचत मात्र गर्ने उद्देश्य थियो,” उहाँ सम्झनुहुन्छ, “तर संस्थासँग नजिकिँदै जाँदा व्यवसायका लागि सहुलियतपूर्ण ऋण पाइने, आर्थिक समस्या पर्दा सहयोग प्राप्त हुने र उद्यम विस्तार गर्न सकिने कुरा बुझ्दै गएँ ।” हाल उहाँको परिवारले बाख्रापालन, ब्रोइलर कुखुरापालन तथा खुद्रा पसल सञ्चालन गरिरहेको छ । एक लटमा १,५०० देखि २,००० सम्म ब्रोइलर चल्ला पाल्ने गरिएको छ भने बाख्रापालन र व्यापारिक गतिविधिबाट समेत आम्दानी भइरहेको छ । आज व्यवसाय विस्तार भएर पाँचवटा खोर सञ्चालनमा छन् । यो अवस्था एकैपटक प्राप्त भएको होइन । निरन्तर मेहनत, लगानी र सहकारीको साथले सम्भव भएको हो । उहाँका अनुसार व्यवसाय सञ्चालनका लागि सबैभन्दा आवश्यक पक्ष पूँजी हो । यही आवश्यकता पूरा गर्न सहकारीले समय–समयमा ऋण उपलब्ध गराउँदै आएको छ । सहुलियतपूर्ण ब्याजदरमा प्राप्त ऋणले व्यवसाय विस्तार गर्न सहज भएको उहाँ बताउनुहुन्छ । “व्यवसायका लागि आवश्यक पर्दा संस्थाले सहयोग गर्दै आउनुभएको छ ।
सस्तो ब्याजदरमा ऋण पाइएकाले व्यवसायलाई अगाडि बढाउन धेरै सहज भएको छ,” उहाँको अनुभव छ । दाहालको व्यवसायले परिवारको आर्थिक अवस्था मात्र सुधार गरेको छैन, स्थानीय समुदायलाई समेत प्रत्यक्ष लाभ पुर्याएको छ । गाउँघरका उपभोक्ताले सहज मूल्यमा ब्रोइलर कुखुरा तथा मासु प्राप्त गरिरहेका छन् । बजारमा मूल्यवृद्धि भएको अवस्थामा पनि उहाँले स्थानीय उपभोक्तालाई तुलनात्मक रूपमा सुलभ मूल्यमा सेवा प्रदान गर्दै आउनुभएको छ । “गाउँघरका मानिसहरूलाई सहज होस् भन्ने हाम्रो प्रयास हुन्छ । बजारमा मूल्य बढ्दा पनि हामी सकेसम्म कम मूल्यमा उपलब्ध गराउने गर्छौं,” उहाँ भन्नुहुन्छ । व्यवसाय सञ्चालनका क्रममा चुनौतीहरू पनि कम छैनन् । विशेषगरी ब्रोइलर कुखुरापालन अत्यन्त संवेदनशील व्यवसाय भएको उहाँ बताउनुहुन्छ । मौसम परिवर्तन, रोगको संक्रमण तथा व्यवस्थापनमा सानो कमजोरी हुँदा ठूलो क्षति हुन सक्ने भएकाले निरन्तर निगरानी आवश्यक पर्ने उहाँको अनुभव छ । “एकै दिनमा ५०-६० वटा कुखुरा समेत मर्न सक्छन्। त्यसैले यस व्यवसायमा विशेष ध्यान दिनुपर्छ,” उहाँ भन्नुहुन्छ ।
उहाँले हालसम्म सरकारी निकाय वा अन्य संस्थाबाट उल्लेखनीय प्राविधिक तालिम प्राप्त गर्नुभएको छैन । व्यवसाय सञ्चालनकै क्रममा अनुभवबाट सिक्दै आउनुभएको छ । यद्यपि कृषिसम्बन्धी रोग व्यवस्थापन, औषधि प्रयोग, खोप व्यवस्थापन तथा आधुनिक पशुपालन प्रविधिसम्बन्धी तालिमहरू सहकारीले आयोजना गरिदिए अझ प्रभावकारी हुने उहाँको अपेक्षा छ । “धेरै कुरा सिकेका छौं, तर सबै रोग र समस्याबारे जानकारी हुँदैन । समय-समयमा प्राविधिक तालिम सञ्चालन गरिदिए कृषक तथा उद्यमीहरूलाई ठूलो सहयोग पुग्थ्यो,” उहाँको सुझाव छ ।वीरेन्द्रनगर सहकारीसँगको सम्बन्धलाई उहाँ केवल वित्तीय कारोबारमा सीमित मान्नुहुन्न । उहाँका अनुसार सहकारीले बचत गर्ने संस्कार विकास गराएको छ । नियमित बचत, मेहनत र आत्मनिर्भरताको सोचलाई संस्थाले बलियो बनाएको उहाँको अनुभव छ । “सहकारीले बचत गर्न सिकायो, व्यवसाय गर्न हौसला दियो र मेहनत गरेर अघि बढ्न प्रेरणा प्रदान गर्यो,” उहाँ भन्नुहुन्छ । संस्थाका कर्मचारीहरूको व्यवहार र सदस्य प्रतिको उत्तर दायित्वप्रति पनि उहाँ सन्तुष्ट हुनुहुन्छ । आवश्यक सूचना, ऋण कार्यक्रम तथा नयाँ योजनाबारे कर्मचारीहरूले नियमित जानकारी दिने गरेको उहाँ बताउनुहुन्छ । नयाँ व्यवसाय सुरु गर्न चाहने युवाहरूका लागि उहाँको सुझाव छ —आत्मविश्वासका साथ व्यवसाय सुरु गर्नुपर्छ, सिक्ने इच्छाशक्ति राख्नुपर्छ र आवश्यक परे अनुभवी व्यक्तिहरूसँग परामर्श लिनुपर्छ । “हामीले सिकेका अनुभवहरू अरूलाई पनि सिकाउन तयार छौं,” उहाँ भन्नुहुन्छ ।
दाहालको उद्यमशील यात्राले ग्रामीण महिलाको उद्यमशीलता, आत्मनिर्भरता र सहकारी अभियानको सफल उदाहरण हो । बचतबाट सुरु भएको यात्रा आज सफल व्यवसायमा परिणत भएको छ । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि.को वित्तीय सहयोग, उहाँको अथक मेहनत र परिवारको साथले यो सफलता सम्भव भएको हो । यस्ता उद्यमीहरूको प्रोत्साहन र प्रवद्धनले स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउने विश्वास गर्न सकिन्छ ।
व्यवसायी सदस्य गोकुल बहादुर राना
वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पछिल्ला वर्षहरूमा केवल वित्तीय सेवा प्रदान गर्ने संस्थाको रूपमा मात्र नभई स्थानीय कृषि उद्यमको प्रवद्र्धन गर्ने महत्वपूर्ण साझेदारका रूपमा पनि आफ्नो पहिचान सुदृढ गर्दै आएको छ । संस्थाको २५औँ रजत जयन्तीको अवसरमा सहकारीले समुदायमा पुर्याएको योगदान र सदस्यहरूको अनुभवलाई समेट्ने क्रममा कृषि उद्यमी सदस्य गोकुल बहादुर रानाज्यूसँग गरिएको संवादले सहकारी र कृषि व्यवसाय बीचको गहिरो तथा दीगो सम्बन्ध उजागर गरेको छ । रानाज्यू २०७८ साल वैशाख ८ गतेदेखि संस्थासँग आबद्ध हुनु भएको हो । त्यसयता उहाँले नियमित रूपमा बचत तथा कारोबार गर्दै आउनु भएको छ । सहकारीलाई उहाँले केवल वित्तीय सेवा प्रदान गर्ने संस्थाका रूपमा नभई आफ्नो व्यवसाय विस्तार र आर्थिक सशक्तीकरणको आधारका रूपमा लिनु भएको छ । “संस्थासँग जोडिएदेखि निरन्तर कारोबार गर्दै आएको छु, आवश्यकता अनुसार ऋण लिएर व्यवसाय विस्तार गर्न सहज भएको छ,” उहाँले बताउनुभयो ।
उहाँको प्रमुख व्यवसाय कृषि तथा पशुपन्छी फर्म हो, जुन पूर्ण रूपमा पारिवारिक रूपमा सञ्चालन हुँदै आएको छ । चार सदस्यीय परिवार मिलेर सञ्चालन गरिएको उक्त फर्ममा कुखुरा पालन, बाख्रा पालन तथा विविध फलफूल र तरकारी खेती समेटिएको छ । परम्परागत कृषिलाई व्यवस्थित व्यवसायमा रूपान्तरण गर्ने उद्देश्यसहित उहाँले आधुनिक तथा व्यावसायिक खेती प्रणाली अपनाउँदै आउनु भएको छ । उहाँको फर्ममा करिब ५०० बोट कागती खेती गरिएको छ, जसबाट क्रमशः उत्पादन वृद्धि हुँदै गएको छ । त्यसैगरी करिब १५० बोट केरा, लिची, आँप, नास्पाती लगायतका फलफूलका बिरुवाहरू पनि रहेका छन् । विशेषगरी हाड नभएको लिची, टाइवान आम्बा तथा ब्ल्याक डायमण्ड जस्ता नयाँ जातका फलफूलहरू पनि परीक्षण स्वरूप रोपिएको उहाँले जानकारी दिनुभयो । “बिस्तारै उत्पादन राम्रो हुँदै गएको छ, केही बोट अझै विकासको चरणमा छन्,” उहाँले भन्नुभयो । कृषि व्यवसायको सुरुवात पारिवारिक परम्पराबाट प्रेरित भए पनि वीरेन्द्रनगर साकोसको सहयोगपछि यसलाई व्यवस्थित रूपमा विस्तार गर्न सहज भएको उहाँको अनुभव छ ।
सहकारीद्वारा उपलब्ध गराइएको कृषि ऋण तथा कृषि उद्यमी लक्षित ब्याज अनुदान कार्यक्रमले उहाँको व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । करिब पाँच लाख रुपैयाँ बराबरको ऋण सहयोग लिएर उहाँले फर्मलाई विस्तार गर्नुभएको हो । “संस्थाबाट प्राप्त ऋणले आवश्यक सामग्री खरिद गर्न सहज भयो, उत्पादन तथा लगानी दुवै वृद्धि गर्न सहयोग पुगेको छ,” उहाँले बताउनुभयो । रानाज्यूका अनुसार सहकारीले ऋण प्रवाह गर्दा अपनाउने कागजी प्रक्रिया, फर्म दर्ता तथा व्यवसाय सञ्चालनको अवस्था मूल्याङ्कन गर्ने प्रणालीले वास्तविक र सक्रिय कृषकहरूलाई मात्र लाभान्वित गर्ने वातावरण सिर्जना गरेको छ । “आवश्यक प्रक्रिया पूरा भए पछि मात्र ऋण प्रवाह हुने भएकाले योग्य सदस्यले मात्र सुविधा पाउने अवस्था बनेको छ,” उहाँले स्पष्ट पार्नुभयो । हाल उहाँको व्यवसाय परिवारकै सक्रिय सहभागितामा सञ्चालन भइरहेको छ। श्रीमान–श्रीमती तथा दुई छोराहरू मिलेर सम्पूर्ण फर्म व्यवस्थापन गरिरहेका छन्। बाह्य श्रमिक भने हालसम्म राखिएको छैन, तर आवश्यकता अनुसार भविष्यमा श्रमिक थप्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । कृषि व्यवसायसँगै सहकारीसँगको निरन्तर आबद्धताले उहाँको आर्थिक स्थायित्वमा सकारात्मक प्रभाव पारेको छ । नियमित बचत, वित्तीय अनुशासन र संस्थागत सहयोगले व्यवसायलाई दिगो बनाउन मद्दत पुगेको उहाँको अनुभव छ । साथै सहकारीद्वारा प्रदान गरिने तालिम तथा प्राविधिक सहयोगले पनि व्यवसाय सञ्चालनमा सहजता प्रदान गरेको छ ।
यद्यपि, उहाँले संस्थाले कृषकहरूलाई लक्षित प्राविधिक तालिम, बजार व्यवस्थापन तथा उत्पादनको बजारीकरणमा अझै थप सहयोग विस्तार गर्न सके अझ प्रभावकारी हुने सुझाव दिनुभएको छ । “अहिले सम्मको अनुभव कम भए पनि सहकारीको साथले भविष्य अझ उज्यालो हुने विश्वास छ,” उहाँले भन्नुभयो । समग्रमा, वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था र कृषि उद्यमी सदस्य बीचको यो सहकार्यले ग्रामीण अर्थतन्त्र सुदृढीकरण, कृषि उत्पादन वृद्धि तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याएको स्पष्ट देखिन्छ । गोकुल बहादुर रानाज्यूजस्ता सदस्यहरूको अनुभवले सहकारीको भूमिका केवल वित्तीय सेवामा सीमित नभई सामाजिक तथा आर्थिक रूपान्तरणको आधार स्तम्भका रूपमा स्थापित हुँदै गएको प्रमाणित गर्दछ ।
