वीरेन्द्रनगर साकोस कर्णाली प्रदेशको सबैभन्दा ठूलो बचत तथा ऋण सहकारी संस्था हो । सदस्य संख्या, स्रोत संकलन र परिचालन, सहकारी संस्था एकीकरण, सेवाकेन्द्र मार्फत सेवाको स्थानीयकरण, कार्यक्रमिक विविधता, रोजगारी सिर्जना तथा स्वरोजगारी, सम्पर्क र समन्वय र विषय विज्ञता आदि दृष्टिकोणले । हामीले विगतमा तपाई हामीलाई विश्वास गर्नुस्, हामी तपाईलाई आड भरोसा दिन्छौ”! भनेर प्रतिवद्धता गरेका थियौं । हामीले त्यो चरण पार गरेका छौं । त्यो चरणमा हामीले प्राप्त गरेका सफलता मापन गर्ने जिम्मा सदस्यहरूलाई नै दिएका छौं । अब तपाई र हामी संगसंगै छौ, जीवन र जगत रूपान्तरणमा सहभागी बनौं । भन्ने अभियानको चरणमा सङ्गसङ्गै जुट्नेछौं ।वर्तमान समयमा सहकारी क्षेत्रप्रति अविश्वासको बादल मडारिइरहेको बेलामा पनि हाम्रा सदस्यहरूले गर्नु भएको विश्वास र भरोसाले संस्था दिनानुदिन प्रगतिको शिखरतिर लम्किरहेको छ ।सहकारीको शाख जोगाउन सकेका छौं ।

       सहकारीले पालना गर्नुपर्ने नियम, कानुन, विधि र विधानलाई सदस्यहरूको आवश्यकता र चाहनासङ्ग समायोजन गरी सेवा प्रवाहको अभिभारा निर्वाह गर्दै जानु हाम्रो मुख्य जिम्मेवारी थियो, छ र हुनेछ । हामीले त्यो जिम्मेवारी पूरा गर्‍यौ, गरिरहेका छौं र गरिरहने छौं । सदस्यहरूले संस्थामाथि गर्नु भएको भरोसा र संस्थाले सदस्यहरूको आवश्यकतापूर्तिको निम्ति निर्वाह गरेको जिम्मेवारीको समुच्चा परिणाम नै संस्थाको वर्तमान सफलता हो । संस्था सञ्चालनका क्रममा हामीले केही मान्यताहरू स्थापित गरेका छौं । जस्तोः मितव्यीता, मित्रता, लगानशीलता, ईमान्दारिता, समझदारिता, समन्वय र सम्पर्क अथवा सञ्जालीकरण आदि । यी मान्यताहरूले नै संस्थाको समग्र विकासमा काम गरेका छन् । यसका साथै सहकारीका मूल्य, मान्यता र सिद्धान्तको परिपालना हाम्रो आधारभूत स्वीकारोक्ति हो । हामी त्यसबाट पछि हट्ने छैनौं ।

       यसैको जगमा हामीले संस्थाभित्र सदस्यहरूको सम्पत्ति सुरक्षाका लागि मीतव्ययीता अपनाएका छौं । सेवाको विविधिकरण गरेर समय सापेक्ष सदस्य सेवालाई विस्तार गरेका छौं । सेवालाई सर्वसुलभ बनाएका छौं । सहकारीको मर्म जोगाउन अग्रजहरूले अपनाएका अनि अभियानले निर्देशित गरेका व्यवस्थापन मापदण्डहरू र सरकारले जारी गरेका निर्देशनहरू पालना गरिरहेका छौं  ।

       हामीले स्वार्थी मन नै सहकारीको शत्रु हो अर्थात (The Selfish mind  is the enemy of Cooperative) भन्ने मान्यताबाट अभिप्रेरित छौं । त्यसैले पवित्र मनका साथ स्वयम् सेवी भएर जिम्मेवारी पूरा गरिरहेका छौं र गर्नेछौं ।  त्यसैले त उत्कृष्ठ सहकारी संस्था बनाउन सकेका छौं । यिनै आधारभूत मान्यताको आलोकमा अविचलित, प्रतिबद्ध र निष्ठावान भएर सहकारीको मूल मर्मलाई डगमगाउन नदिने संकल्प गर्दछौं । आर्थिक समृद्धि, सामाजिक सद्भाव र रूपान्तरण, सांस्कृतिक जगेर्ना र वातावरण संरक्षणलाई मानव जीवनसङ्ग गाँसेर मानवीय भूमिका निर्वाहका लागि आम सदस्यज्यूहरूमा अपिल गर्दछौं ।

       सूचना र प्रविधिको वर्तमान युगमा संस्थाको आधारभूत विषयहरू वेवसाइट मार्फत सबैको पहुँच तथा जानकारीका लागि यो प्रयास गरिएको छ । संस्थाका सबै गतिविधिहरू यस संगालो मार्फत जानकारी गराउन पाउदा हामीले गौरबका साथै जिम्मेवारी वहनको अनुभूति गरेकाछौं । आफूलाई चाहिएको सूचना लिएर संस्थाको ज्ञानात्मक सामिप्यमा रहन सरोकारवाला सबैलाई विनम्र अनुरोध गर्दछौं ।  

                                                  धन्यवाद ! जय वीरेन्द्रनगर साकोस !!

बम बहादुर बि.सी.

(अध्यक्ष) सम्पर्क नं.ः+९७७-९८५८०५२६२४