विगतमा “तपाई हामीलाई विश्वास गर्नुस्, हामी तपाईलाई आड भरोसा दिन्छौ”! भनेर हामीले प्रतिवद्धता गरेका थियौं । त्यसको आधार मापन गर्ने जिम्मा हामीले तपाईहरूलाई नै दिएका थियौं । त्यसको परिणाम हाल हामीले त्यो चरण पार गरेका छौं । अब “तपाई र हामी संगसंगै छौ, जीवन र जगत रूपान्तरणमा सहभागी बनौं ।” भन्ने अभियानमा सङ्गसङ्गै जुट्नेछौं ।

वर्तमान समयमा सहकारी क्षेत्रप्रति अविश्वासको वादल मडारिइरहेको वेलामा पनि यस संस्थाका सदस्यहरूले गर्नु भएको विश्वास र भरोसाका कारणले आज संस्था दिनानुदिन प्रगतिको शिखरतिर लम्किरहेको छ ।सहकारीको शाख जोगाउन सकेको छ । सहकारीले पालना गर्नुपर्ने नियम, कानुन, विधि र विधानलाई सदस्यहरूको आवश्यकता र चाहनासङ्ग समायोजन गरी सेवा प्रवाहको अभिभारा निर्वाह गर्दै जानु हाम्रो मुख्य जिम्मेवारी थियो, छ र हुनेछ । हामीले त्यो जिम्मेवारी पूरा गर्‍यौ, गरिरहेका छौं र गरिरहने छौं । सदस्यहरूले संस्थामाथि गर्नु भएको भरोसा र संस्थाले सदस्यहरूको आवश्यकतापूर्तिको निम्ति निर्वाह गरेको जिम्मेवारीको समुच्चा परिणाम नै संस्थाको वर्तमान सफलता हो । संस्था सञ्चालनका क्रममा हामीले केही मान्यताहरू स्थापित गरेका छौं । जस्तोः मितव्यीता, मित्रता, लगानशीलता, ईमान्दारिता, समझदारिता, समन्वय र सम्पर्क अथवा सञ्जालीकरण आदि । यी मान्यताहरूले नै संस्थाको समग्र विकासमा काम गरेका छन् । यसका साथै सहकारीका मूल्य, मान्यता र सिद्धान्तको परिपालना हाम्रो आधारभूत स्वीकारोक्ति हो । हामी त्यसबाट पछि हट्ने छैनौं ।

यसैको जगमा हामीले संस्थाभित्र सदस्यहरूको सम्पत्ति सुरक्षाका लागि मीतव्ययीता अपनायौं । सेवाको विविधिकरण गरेर समय सापेक्ष सदस्य सेवालाई विस्तार गर्यौ । सेवालाई सर्वसुलभ बनायौं । सहकारीको मर्म जोगाउन अग्रजहरूले अपनाएका, अभियानले निर्देशित गरेका व्यवस्थापन मापदण्डहरू र सरकारले जारी गरेका निर्देशनहरू पालना गर्यौं ।

हामीले पालना गरेका यी हरेक आधारभूत विषयहरूको आलोकमा सदस्यहरूको संस्थाप्रति विश्वास र भरोसा जाग्यो । आजको दिनमा यही विश्वास नै संस्थाको सफलताको मूल कारण बनेको छ । हामी सदस्य सन्तुष्टिका लागि विगतको भन्दा अधिक प्रयास गर्नेछौं । स्रोत परिचालनमा अझ पारदर्शिता कायम गर्नेछौं ।

बम बहादुर बि.सी.

(अध्यक्ष) सम्पर्क नं.ः+९७७-९८५८०५२६२४